काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्चअन्तर्गत प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गर्नुभएको आरोप लगाएका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले शिक्षामन्त्री अमुक विद्यालयको प्रचारमा सिमित भएको बताए। उनले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्नु भनेको सरकारी कर्मचारीमाथिको अविश्वास भएको बताए। उनले कार्यविधि तत्काल खारेज गर्न माग गरे। उनले निःशुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सिमित भएको बताए।
उनले भने, ‘निःशुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सिमित भएको अवस्था छ। अनेक स्टन्ट गर्ने शिक्षामन्त्री कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिरहनुभएको छ। उहाँले अभिभावकको दुःख देख्नुहुन्न। विद्यालयमा भर्ना भएको नाममा लुट देख्नुहुन्न, विद्यालयमा छात्रवृत्तिमा पहुँचवालाका कारण वास्तविक लक्षित वर्ग वञ्चित भएको देख्नुहुन्न। अरु कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्नेमात्र ध्यान उहाँमा रहेको छ। त्यसैले उहाँले हालै प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गर्नुभएको थियो। यो प्रशिक्षार्थीको नाममा आफ्नो आसेपासेलाई जागिर खुवाउने प्रपञ्च मात्रै हो। यो सरकारी कर्मचारीमाथिको अविश्वास हो। यो कार्यविधि खारेज होस्।’
सांसद बस्नेतले सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए। उनले देशमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक आफैं न्यायाधीश बन्ने गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।