काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदीय समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले विभिन्न संसदीय समितिहरुमा विधेयकहरु अड्किएको बताएका हुन्। उनले कुन समस्याका कारण समितिमा विधेयकहरु अड्किएका हुन् भन्ने सम्बन्धमा समिति सभापतिहरुसँग सभामुखले बुझ्नुपर्ने बताए।
उनले समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनुपर्ने कार्यतालिका बनाएर अगाडी बढ्न सभामुखलाई आग्रह गरेका छन्। उनले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गर्नका लागि चुकिरहेको भन्दै विगतको जस्तैगरी सरकार र संसद सञ्चालन गर्नु नहुने बताए।
उनले भने, ‘मेरो सभामुखलाई विनम्र अनुरोध छ, समिति सभापतिज्युहरुसँग सभामुखज्युले बैठक बोलाउनुपर्यो। कुन समितिमा किन त्यो विधेयक अड्किएको छ, त्यो विधेयक किन फेरि सदनमा फर्किएर आउँदैन? समस्या के–के हुन्? समस्या समाधान हामीले नै गर्ने हो। कुनै पनि हालतमा ति विधेयकहरु निश्चित समय कार्यतालिका बनाएर तिनीहरु संसदीय समितिबाट सदनमा आउने बाटो खोल्ने पहलका निम्ति म सभामुखज्युलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सदनमा प्रश्तुत भएका विधेयकहरुमा हामीले सार्थक बहस गर्नुपर्ने छ, परिमार्जनसहित पास गर्नुपर्नेछ। संविधान निर्माण भएको ८ वर्षमा संघीयता कार्यान्वयन गर्नेकुरा, संविधानमा व्यवस्था भएको मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रियामा हामी चुकेका छौं। विगतको सदन, विगतको सरकार जसरी सञ्चालन भएको थियो । विगतका सत्ताको संरचना जसरी सञ्चालन भइरहेका थिए त्यसैगरी सदन सञ्चालन ग¥यौँ । त्यसैगरी सरकार सञ्चालन गर्यौं। त्यसैगरी सत्ता अन्तर्गतका संरचनाहरुको सञ्चालन ग¥यौँ भने हाम्रा समस्याहरुको समाधान हुँदैन।’
उनले रणनीतिक सडकहरु र वैकल्पिक लोकमार्गहरु अलपत्र अवस्थामा रहेका भन्दै ति आयोजनाहरुलाई यसै आर्थिक वर्षमा सुचारु गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।