काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले तीन विकेट लिएको छ।
टस हारेर बलिङको निम्तो पाएको नेपालले तीन विकेट झारेको हो। नेपालका लागि रिजन ढकालले पहिलो विकेट निकालेका हुन्। ओपनर जेम्स म्याकुलमलाई विकेट किपर अर्जुन साउदबाट क्याचआउट गराएका हुन्।
यस्तो दोस्रो विकेट साहब आलमले लिएका हुन्। कसिलो बलिङ गर्दै आलमले स्टेफिन दोहेनीलाई एलबी डब्लु आउट गरे। दोहेनीले ३० बलमा १२ रन बनाएका थिए। यस्तै ३४ बलमा २१ रन बनाएका पिजे मोरलाई मौसम ढकालले बोल्ड आउट गरेका हुन्।
यतिबेला आयरल्यान्ड वल्भ्सका कप्तान निल रक र केड कार्मिकेल क्रिजमा रहेका छन्। आयरल्यान्डले २६ दशमलव ३ ओभरमा तीन विकेट गुमाएर ११८ रन बनाएको छ।
नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ। टि–२० सिरिज खेलेका ५ खेलाडी मात्र आज प्लेइङ-११ मा छन्।
नेपालका लागि कप्तान विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन्।
आयरल्यान्डले रस अडेर, म्याथ्यु फोस्टर, ग्याभिन होए र मोर्गन टपिङ्गलाई विश्राम दिएको छ। टोलीमा निल रक, केड कार्माइकल, ग्यारेथ डेलनी, स्टेफन डोहनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मकलम, पिजे मुर र बेन ह्वाइट छन्।
आयरल्यान्ड वल्भ्सले टी–२० सिरिज २-१ ले जितेको थियो। अब एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।