काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाचारमा आउने सबै सत्य नहुने बताए।
उनले सञ्चार माध्यममा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे।
गृहमन्त्री लामिछानले सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गरे। उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए। प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको उनको जिकिर थियो।
उनले भने, ‘समाचार आएपछि पुग्यो। तपाईंहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन हेर्नुपर्ने होइन? एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिहाल्यो नि।’
उहाँले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।