काठमाडौं- प्रतिनिधि सभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राखेको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।
बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताए। बहुपक्षीय र क्षेत्रीय सङ्गठनमा नेपालले आफ्नो सहभागिता जनाउँदै त्यसमा सकारात्मक भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय विश्व संस्थामा नेपालको सहभागिता रहँदै आएको बताए।
‘क्षेत्रीय सङ्गठनलाई पनि आफ्नो सहभागितासहित प्रभावकारिता बनाउने दिशातर्फ प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने हो।’ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको यथार्थ सुनाउँदै सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने प्रतिबद्धता व्यक्त गरे।
‘बिम्स्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन। सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत छैन,’ उन भने, ‘हामी सार्कलाई प्रभावकारी बनाउने पक्षमा छौँ, अध्यक्षको हैसियतमा सक्रिय भूमिका खेल्नेछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।