काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आइतबार जारी खेलमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको हो।
गुजरातलाई सस्तैमा अलआउट गर्ने क्रममा गुलसन झाले ४ विकेटको महत्वपूर्ण योगदान गरे। उनले ४ ओभर बलिङ गर्दै उमंग टण्डेल, स्मिथ पटेल, हेमांग पटेल र ऋषि पटेललाई आउट गरे।
यस्तै करन केसीले ३ विकेट लिए भने सोमपाल कामीले १ जनालाई पेभेलियन फर्काए। २ जना रन आउट भएका थिए।
गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। हेमांग पटेलले २०, अभिषेक देसाई ११ तथा स्मिथ पटेलले १० रनको योगदान गरे।
नेपालले दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीस्वरुप यो सिरिज लेखेको हो। नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ। चैत २१ गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। फाइनल चैत २५ हुनेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।