काठमाडाै- आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो ।
मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । अन्तिम ४ ओभरमा नेपालले ६५ रन खर्चेको थियो । तीव्र गतिका बलर कमल सिंह ऐरीले दोस्रो बलमै विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । रस अडेरलाई स्लिपमा क्याच आउट गराउँदै कमलले सुखद पुनरागमन गरे । एक वर्षपछि मैदान फर्केका उनले कसिलो बलिङ गरे ।
त्यसपछि केड कार्माइकल र पिटर मुरले ५८ बलमा ८८ रनको आक्रामक साझेदारी गरे । सागरले दशौं ओभरको अन्तिम बलमा केडलाई एलबीडब्लु आउट गरे । उनले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे ।
त्यसपछि अर्को ओभरमा पिटर अर्धशतकबाट १ रन नपुग्दा बोल्ड भए । आरिफको बलमा आउट हुनुअघि उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
स्टेफन डोहनीले १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रन बनाए । उनलाई कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाएर साथ दिए । दुवैलाई कमल सिंह ऐरीले आउट गरेका थिए ।
ग्यारेथ डेलनीले अन्तिम ३ बलमा लगातार छक्का प्रहार गर्दै १४ बलमा नटआउट ३० रन जोडे । ग्याभिन होए ६ बलमा २ छक्कासहित १८ रनमा नटआउट रहे ।
कमलले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालको नाममा पनि १-१ विकेट रह्यो ।
नेपालको टोली :
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी
बेन्च : विकास आग्री, विपिन खत्री, पवन सर्राफ, नारायण जोशी
आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, पिजे मुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।