काठमाडौं– नेपाल भ्रमणमा आएको आयरल्यान्डको टीम ‘ए’ नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पराजित भएको छ।
टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रन बनाएको थियो।
१२२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन बनाए।
यस्तै सन्दीप जोराले ३६, आशिफ शेख १६ तथा दीपेन्द्र सिंह ऐरीले नटआउट २० रन जोडे। गुल्शन झाले ४ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल शून्य रनमै आउट भएका थिए।
त्यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’का लागि स्टेफेन धोनीले सर्वाधिक ४६ रन जोड्दा थोमस मायस र लियम म्याक्कार्थीले १६/१६ रन जोडे यस्तै फिन हान्डले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेल, ललित राजवंशी र गुल्शन झाले दुई/दुई विकेट लिँदा कुशल मल्ल र करण केसीले एक/एक विकेट लिए।
आयरल्यान्डका ग्रेथ डेलेनीले २ तथा बेन ह्वाइट र थोमस मायसले समान एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।