काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपील) २०२४ अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो। सुरुमा धर्मराएको टोलीलाई सम्हाल्दै कोलकाताका आन्द्रे रसेलले २५ बलमा ६४ रन बनाएका थिए। उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए। यस्तै फिलिप साल्ट ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रनको योगदान दिए।
जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो। अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका थिए। हैदराबादका ब्याटर हेनरिक क्लासेनले पहिलो बलमा छक्का हाने पनि त्यसपछि हर्षित रानाले पुनरागमन गरेका थिए।
हैदराबादका हेनरिक क्लासेनले २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन बनाए। ओपनर मयंक अग्रवाल र अभिषेक शर्मा ३२/३२ रनमा आउट भए। त्यस्तै राहुल त्रिपाठी २०, एडेन माक्ररम १८, अब्दुल सामद १५ र शाहबज अहमद १६ रनमा आउट भए।
कोलकाताका हर्षित रानाले ३, आन्द्रे रसेलले २, बरुणचक्रवर्ती र सुनिल नारायणले १/१ विकेट लिए। हैदराबादका टि नटराजनले ३, मयंक मारकण्डे २ र प्याट कमिन्सले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।