काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन्।
लोकेश बमले ६ बलमा १४ रन बनाए। आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे।
आरिफ शेख ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।
नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो। यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।