काठमाडौं– सरकारले आईसीसी पुरुष टी–२० विश्वकपको तयारीका लागि ५ करोड रकम दिएको छ। नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकाशा भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए।
सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए।
नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो। सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो।
टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ छ। समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।