काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
उनीहरू आइतबार साँझ बालुवाटार गएको बालुवाटार स्रोतले बताएको छ। ओली आइतबार बिहान पनि बालुवाटार गएका थिए। साँझ ओलीसँगै महासचिव शंकर पोखरेल पनि सँगै गएका छन्।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार गएका थिए। दिउँसो लामिछाने पनि गएका थिए। आइतबार बिहान प्रचण्ड, ओली र देउवाबीच संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भएको थियो।
त्यस्तै, लामिछानेसँग दिउँसोको छलफलमा संक्रमणकालीन न्यायका अतिरिक्त चितवनमा एक छात्राको मृत्यु प्रकरणको विषयमा छलफल भएको थियो।
साँझको छलफलको विषयमा एमाले र रास्वपा नेताहरूले खुलेर बताउन चाहेनन्। उनीहरूले संक्रमणकालीन न्यायको विषयमा छलफल भएको हुनसक्ने भए पनि त्यसका अतिरिक्त विषयमा पनि छलफल हुनसक्ने बताए।
‘नयाँ गठबन्धन निर्माणको विषयमा केही समययता छलफल चलिरहेको हो’, रास्वपाका एक नेताले भने, ‘अहिलेको भेटमा त्यही विषयमा पनि छलफल भइरहेको हुनसक्छ।’
गठबन्धनका दुई दल माओवादी केन्द्र र कांग्रेसबीच पछिल्ला दिनमा अविश्वास बढेका छन्। कोशीमा सरकारको नेतृत्व, कोशी प्रदेशमै राष्ट्रिय सभाको निर्वाचन परिणाम, कांग्रेस महासमिति बैठकमा भएका छलफल र प्रस्तुत प्रतिवेदनका कतिपय विषयप्रति माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि जनाएका छन्।
यसैबीच प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि निकटता बढिरहेको छ। उनीहरूबीचको भेटले पनि तीव्रता पाएको छ। दुईबीच सकारात्मक संवाद बढेकै कारण एमाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमै पारित गर्न सहमत भएको आकलन गरिएको छ।
सो विधेयक आइतबारबाटै संसदीय समितिबाट पारित गर्ने तयारी भए पनि अन्तिममा समयमा रोकिएको थियो।
२०७९ पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि एमाले, माओवादी केन्द्र र रास्वपा लगायतका दलले गठबन्धन बनाएका थिए। त्यतिबेला प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन त्यागेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्न सफल भएका थिए। पछि उनले कांग्रेस नेतृत्वको गठबन्धन ब्युँत्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।