काठमाडौं- त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत शुक्रबारको खेलमा नेपालले टस हारेर नामिबिया विरुद्ध पहिले ब्याटिङको निम्तो पाएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन्। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई बाहिर राखिएको छ।
घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ।
यसअघिका दुवै खेलमा दोस्रो ब्याटिङ गरेको नेपालले लक्ष्य पूरा गर्न सकेको छैन । नामिबियासँग २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८६ रन बनाउँदै अलआउट भएको थियो भने नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा १८३ रन बनाएर अलआउट भएको थियो।
२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी–२० विश्वकपमा छनोट भएका छन्।
नेपालको प्लेइङ ११
अनिल शाह, आसिफ शेख, रोहित पौडेल(कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।