काठमाडौं– टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता हुने भएको छ।
प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा छिट्टै टुंगोमा पुग्ने जानकारी दिएका हुन्।
यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले समितिलाई जानकारी गराए। ‘टेरामिक्समा अनुसन्धान सकिएको छ। हामी छिट्टै विशेष अदालतमा संलग्न देखिएकाहरुलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गर्छौं,’ प्रमुख आयुक्त राईले भने।
राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि आयोगले अनुसन्धान गरिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।