काठमाडौं– जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। यादवको राजीनामासँग महाधिवेशनको मुखमा सो पार्टीमा विवाद उत्पन्न भएको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष यादवले राजीनामा दिएका हुन्। उनको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि त्यसको समाधानका लागि सो पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राजकिशोर यादव लागेका छन्।
महाधिवेशनको मुखमा पार्टीमा देखिएको विवादलाई समाधान गर्नका लागि कार्यकारिणी यादव लुम्बिनी प्रदेश पुगेका छन्। जसपाका अध्यक्ष यादवले प्रदेश कमिटीसँग कुनै सल्लाह नै नगरीकन मनमौजी ढङ्गले विभिन्न मनोनयन र नयुक्तिहरु गर्ने गरेपछि विवाद सुरु भएको हो।
यो क्रियाकलापप्रति असन्तुष्ट भएर लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग फोनमा कुरा गरेका थिए। फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका हुन्।
उनले राजीनामा पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य रेणु यादव र लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादवको वाट्सएपमा पठाएका छन्। तर हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।