काठमाडौं– क्यानडा–११ सँग जारी एक दिवसीय अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ले जित निकालेको छ। नेपाल ‘ए’ले दुई विकेटले जित निकालेको हो।
मूलपानी क्रिकेट मैदानमा जितका लागि नेपालले पाएको २४१ रनको लक्ष्य ४९ दशमलव १ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो। नेपालका लागि सन्दीप जोरा र बसिर अहमदले अर्धशतक प्रहार गरे।
यो जितसँगै नेपाल ‘ए’ र क्यानडा–११ बीचको श्रृंखला १–१ को बराबरीमा आएको छ। पहिलो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो। अब तेस्रो खेल जित्ने टोलीले उपाधि जित्ने छ।
७४ बलमा ६६ रनको योगदान दिएका कप्तान सन्दीप जोराले ७ चौका र १ छक्का हिर्काएका थिए। कप्तान बिनोद भण्डारी अस्वस्थ भएका कारण भण्डारीको ठाउँमा आज जोराले कप्तानीको जिम्मेवारी सम्हालेका थिए।
यस्तै नेपालका लागि अर्धशतक हानेका बसिर भने ५२ रनमा नटआउट रहे। ओपनर अर्जुन कुमालले ४० तथा रसिद खानले ४७ रनको योगदान दिए। सुरुवातमै दुई विकेट गुमाएको नेपालका लागि कुमाल र सन्दीपले उत्कृष्ट पारी खेल्दै १०४ रनको साझेदारी गरिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो। क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाउँदा नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए।
बलिङतर्फ नेपालका साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिएका थिए। अब नेपाल ‘ए’ र क्यानडा ११ बीचको अर्को तथा अन्तिम खेल बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।