काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ।
टियू क्रिकेट मैदानमा भएको खेलमा नामिबयाले पहिले ब्याटिङ गर्दै १ सय २४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेदरल्याण्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य भेटाएको हो।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, म्याक्स ओ डाओडले २८ रनको योगदान दिए। उनले २ चौका र २ छक्का हिर्काए। बास डी लिडेले २१ रन बनाए।
यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो। दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिएका थिए।
नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए। उनले एक चौका र २ छक्का हिर्काए। त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए। उनले एक छक्का प्रहार गरे।
विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए। नेदरल्याण्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए।
त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो।
आजको खेलपछि तीनै टोलीले २/२ अंक बटुलेका छन्। नेट रनरेटको आधारमा नेपाल पहिलो, नामिबिया दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।