काठमाडौं- स्पिनर आर्यन दत्तले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नामिबियाले आईसीसी लिग-२ अन्तर्गतको खेलमा सामान्य योगफल खडा गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो।
नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए।
यस्तै काइल क्लाइनले ५.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडले समान एक-एक विकेट लिए।
नामिबियाका लागि जेजे स्मिटलले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २६ रन बनाए। उनलाई म्याक्स ओ-डाउडले २८औं ओभरमा आठौं विकेटका रुपमा आउट गरेका थिए।
यस्तै तल्लो क्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले ३९ बल खेल्दै १ छक्का सहित २० रन बनाए। उनी भने रुलफ भ्यान डर मर्वाको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट गरेका थिए।
नामिबियाको शीर्ष क्रमका कुनै ब्याटर चल्न सकेनन्। ओपनर निकोलास डाभिन आठौं ओभरमा १८ बल खेल्दै १३ रन बनाएर पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए। उनलाई काइल क्लाइनले आउट गरेका थिए। तेस्रो नम्बरमा आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए।
नेदरल्याण्ड्स आफ्नो पहिलो खेलमा शनिबार नेपाल विरुद्ध ९ विकेटले पराजित भएको थियो। नामिबियाले भने पहिलो खेलमा नेपालमाथि ४ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।