काठमाडौं- मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा शुक्रबार नेपालले मलेसियासँग खेल्दैछ। मलेसियासँगको खेलमा जित जितेमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ।
बुधबार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। यसअघि बुधबार नै कुवेत विरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो। त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो।
नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो।
नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो। एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउनेछ। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।