काठमाडौँ - आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुने छन् ।
हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही देखिएको नेपाली टोलीले लिग–२ को पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । याे खेलमा जित हात पार्दै शुरु गर्ने तयारीमा नेपाल रहेकाे छ ।
त नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग–२ को यो दोस्रो संस्करण हो ।
लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए ।
लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।
यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।
यसअघि सम्पन्न आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।
घरेलु मैदानमा आयोजना हुने लिग–२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।
क्यानले घोषणा गरेको टोलीमा यू–१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ । लिग–२ शृङ्खलाका लागि यसअघि घोषित टोलीमा यी दुईलाई समेटिएको थिएन ।
यसअघि उनीहरु वैकल्पिक खेलाडी थिए । तर, हालै सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि अनिल र देवलाई पनि लिग–२ टोलीमा स्थान दिइएको हो a
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।