काठमाडौं– एसिसी वुमन्स प्रिमियर कप क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालकी रुबिना क्षेत्रीले शतक प्रहार गरेकी छन्। तेस्रो क्रममा नेपालको ब्याटिङ लाइन सम्हाल्न पुगेकी रुबिनाले ५४ बलमा १०२ रन प्रहार गरिन्। जसक्रममा उनले १० चौका र ३ छक्का हिर्काइन्।
मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले सुरुवाती ५ ओभरमै ३ विकेट गुमाएको थियो।
नेपालका ओपनर कविता कुँवर १३ र सीता रानामागर १५ रन बनाएर आउट भएकी थिइन्। यस्तै, कप्तान इन्दु बर्मा शून्य रनमा आउट भइन्। भने डली भट्ट ६ रन बनाएर आउट भइन्।
रुबिनासँग पूजा महतोले उत्कृष्ट साझेदारीसहित खेलिरहेकी छन्। पूजाले पनि अर्धशतक प्रहार गरेकी छन्। ३३ बल सामना गर्दै पूजाले अर्धशतक पूरा गरिन्। जसक्रममा उनले ५ चौका प्रहार गरिन्।
समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै ४ अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको थियो।
माल्दिभ्स भने लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो।
प्रतियोगितामा १६ सहभागी टोली ४ समूहमा छन्। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने २ टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।