काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। सोमबार चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मन्त्री महतले चालु आवमा बजेटको ८७.३८ प्रतिशत मात्र खर्च हुने बताएका हुन्।
चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड कुल बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए। जसअनुसार १२.६२ प्रतिशतले बजेटको लक्ष्य घटाइएको छ।
‘जसमध्ये पूँजीगत (विकास खर्च) खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुन्छ छ। यस्तै चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान छ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान छ,’ उनले भने।
स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने अनुमान रहेको उनले बताए।
सरकारले लक्ष्य अनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान अर्थमन्त्री महतको भनाइ छ।
यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरिएको छ। अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने उनले बताए। वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने अनुमान रहेको उनी बताउँछन्।
बजेटको अर्धवार्षिक समीक्षा पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।