काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (सोमबार) साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। जसबारले निर्णय गर्न सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी सञ्चालक समिति बैठक बोलाएको छ।
सो बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा छलफल हुने राष्ट्र बैंकको गभर्नर कार्यालयका सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए।
‘५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ। सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने ८० प्रतिशत सम्भावना छ। २० प्रतिशत नहुन पनि सक्छ,’ उनले भने।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको उनको भनाइ छ।
प्रथम त्रैमासिक समीक्षापछि पनि कर्जा विस्तार हुन नसक्नु प्रमुख चुनौती बनेको छ। चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ। तर मुद्रास्फीतिको दबाब भने देखिँदैन। कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजी कोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आकलन गरीएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।