काठमाडौं– नेपाल र क्यानडाबीच काठमाडौंमा जारी ३ खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल आज (सोमबार) हुँदैछ। नेपाल र क्यानडाबीचको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ।
नेपालले सिरिजको उपाधि यसअघि नै आफ्नो पक्षमा पारिसकेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको थियो। यस्तै, शनिबार भएको खेलमा ४ विकेटले विजयी भयो।
नेपाल क्यानडासँगको सिरिज क्लीन स्वीप गर्ने लक्ष्यका साथ सोमबार मैदान उत्रिनेछ। क्यानडा पनि सान्त्वना जितको खोजीमा हुनेछ।
आईसीसी विश्वकप लिग २ को तयारीअन्तर्गत नेपालले क्यानडासँग सिरिज खेलिरहेको हो। क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीच पहिलोपटक एकदिवसीय मान्यताप्राप्त शृङ्खला भइरहेको हो।
२ वर्ष अगाडि नेपालले क्यानडाको भ्रमण गरेको थियो। यद्यपि त्यो समय क्यानडाको एकदिवसीय मान्यता गुमिसकेको थियो। गत वर्ष क्यानडाले पुन: एकदिवसीय मान्यता प्राप्त गरेको हो।
क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टिममा नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ। हालै यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दले क्यानडाविरुद्धको सिरिजमा मौका पाएका छन्। यस्तै, प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका बलहरु रिजन ढकाल र सूर्य तामाङसहित हेमन्त धामीलाई पनि समावेश गरिएको छ।
नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि आफ्ना अनुभवी केही खेलाडीबिनै नेपाल आएको छ। क्यानडा पनि आईसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाल भ्रमणमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।