काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपको पहिलो खेलमा नेपालले हङकङविरुद्ध सानदार जित निकालेको छ। प्रतियोगिताको पहिलो दिनमा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो।
हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन्। ३३ बलको सामना गरेकी उनले एउटा छक्का र ३ वटा चौका प्रहार गरिन्।
यस्तै, सीता राना मगरले ३६ रन बनाइन्। ३८ बलको सामना गरेकी सीताले १ छक्का र एउटा चौका प्रहार गरिन्।
नेपालकी ओपनिङ ब्याटर कविता कुँवर भने ४ रनमै आउट भइन्। तेस्रो नम्बरमा क्रिजमा आएकी रुविना भने शून्य रनमा नटआउट रहिन्।
मलेसियाको सेलांगुर टर्फ क्लबमा टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। हङकङका लागि कप्तान क्यारी चानले २१ रन बनाइन्। यस्तै, मरियम बिबीले १९, यास्मिन दसवानीले १५ र नतशा माइल्सले ११ रन बनाइन्।
हङकङविरुद्ध नेपालकी पूजा महतो र रुविना क्षेत्रीले २–२ विकेट लिए। यस्तै, कविता जोशी र सीता रानामागरले १–१ विकेट लिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।