काठमाडौं– काठमाडौंमा जारी ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपाल र क्यानडाबीचको ३ खेलको एकदिवसीय सिरिजको दोस्रो आज (शनिबार) भइरहेको हो। क्यानडाले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्दैछ।
यसअघि बिहीबार नेपाल र क्यानडाबीच पहिलो खेल भएको थियो। सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको थियो। नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।
आईसीसी विश्वकप लिग २ को तयारीअन्तर्गत नेपालले क्यानडासँग सिरिज खेल्न लागेको हो। क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीच पहिलोपटक एकदिवसीय मान्यताप्राप्त शृङ्खला हुन भइरहेको हो। २ वर्ष अगाडि नेपालले क्यानडाको भ्रमण गरेको थियो। यद्यपि त्यो समय क्यानडाको एकदिवसीय मान्यता गुमिसकेको थियो। गत वर्ष क्यानडाले पुन: एकदिवसीय मान्यता प्राप्त गरेको हो।
क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टिममा नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ। हालै यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दले क्यानडाविरुद्धको सिरिजमा मौका पाएका छन्। यस्तै, प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका बलहरु रिजन ढकाल र सूर्य तामाङसहित हेमन्त धामीलाई पनि समावेश गरिएको छ।
नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि आफ्ना अनुभवी केही खेलाडीबिनै नेपाल आएको छ। क्यानडा पनि आईसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाल भ्रमणमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।