काठमाडौं- रोहित पौडेलको कप्तानी बलिङले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत क्यानडा विरुद्धको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो।
२२५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रन मात्र बनाउन सक्यो। जितका लागि कप्तान पौडेलले ८.५ ओभर बलिङ गर्दै ४ विकेट लिए।
यसअघि नेपालका ब्याटर कुशल भुर्तेलले ६२ रनको योगदान दिए। आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे। कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए। भीम सार्कीले १७ रन बनाए। पवन सर्राफ १५ रनमा आउट भए।
नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे। रिजन ढकालले ४ रन जोडे। ढकाल नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए।
सूर्य तामाङले ३२ बलमा अविजित १० रन बनाए। ललित राजवंशी अन्तिम ओभरको अन्तिम बलमा अन्तिम विकेटका रुपमा पेभेलियन फर्किए। उनले एक रन बनाए। उनी रनआउट भएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्य र रिजनको यो ‘डेब्यू’ खेल हो।
नेपालविरुद्ध क्यानडाका उदय भगवानले ३ तथा साद बिन जफर र ईश्वरजोत सोहीले २–२ विकेट लिए। यस्तै, शाहिद अहमजाइ र हर्ष ठाकरले १–१ विकेट लिए। क्यानडाका ब्याटर निकोल्सन क्रिटोनले ६८ र प्रगत सिंहले ५० रनको योगदान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।