काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत क्यानडाविरुद्धको पहिलो खेलमा नेपालले जितका लागि २२५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर २२४ रन बनायो।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६२ रनको योगदान गरे। आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे। कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए। भीम सार्कीले १७ रन बनाए। पवन सर्राफ १५ रनमा आउट भए।
नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे। रिजन ढकालले ४ रन जोडे। ढकाल नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए।
सूर्य तामाङले ३२ बलमा अविजित १० रन बनाए। ललित राजवंशी अन्तिम ओभरको अन्तिम बलमा अन्तिम विकेटका रुपमा पेभेलियन फर्किए। उनले एक रन बनाए। उनी रनआउट भएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्य र रिजनको यो ‘डेब्यू’ खेल हो।
नेपालविरुद्ध क्यानडाका उदय भगवानले ३ तथा साद बिन जफर र ईश्वरजोत सोहीले २–२ विकेट लिए। यस्तै, शाहिद अहमजाइ र हर्ष ठाकरले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।