काठमाडौं– नेपाल र क्यानडाबीचको ३ खेलको एकदिवसीय सिरिज आज (बिहीबार)बाट सुरु हुँदैछ। नेपाल र क्यानडाबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार बिहान ९:१५ बजेबाट सुरु हुनेछ।
आईसीसी विश्वकप लिग २ को तयारीअन्तर्गत नेपालले क्यानडासँग सिरिज खेल्न लागेको हो। क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीच पहिलोपटक एकदिवसीय मान्यताप्राप्त शृङ्खला हुन लागेको हो। २ वर्ष अगाडि नेपालले क्यानडाको भ्रमण गरेको थियो। यद्यपि त्यो समय क्यानडाको एकदिवसीय मान्यता गुमिसकेको थियो। गत वर्ष क्यानडाले पुन: एकदिवसीय मान्यता प्राप्त गरेको हो।
क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टिममा नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ। हालै यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दले क्यानडाविरुद्धको सिरिजमा मौका पाएका छन्। यस्तै, प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका बलहरु रिजन ढकाल र सूर्य तामाङसहित हेमन्त धामीलाई पनि समावेश गरिएको छ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले नयाँ खेलाडीको प्रदर्शनपछि उनीहरु टिमको योजनामा कसरी फिट हुन सक्छन् भन्ने कुरा पत्ता लाग्ने बताएका छन्।
यस्तै, नियमित बलरहरु करण केसी र गुलसन झालाई विश्राम दिइएको छ।
नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि आफ्ना अनुभवी केही खेलाडीबिनै नेपाल आएको छ। क्यानडा पनि आईसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाल भ्रमणमा आएको हो।
नेपाल र क्यानडाबीच दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।