काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते गरिने भएको छ। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सुरुङ मार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन्।
उनले आगामी मार्च ६ तारिक अर्थात् फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको बताए। मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको जानकारी दिँदै उनले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताए।
डुमरुले अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको जानकारी दिए। उनले समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको बताए। एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको जानकारी दिँदै डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको बताए।
डुमरीले भने, ‘विभिन्न कम्पनेन्ट ब्रिक डाउन गर्दा आयोजनाको हालसम्मको प्रगतिमा ६८.५ प्रतिशत सुरुङ मार्ग लगायतमा खर्च भएको छ। घर टहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको छ तर थोरै मात्रै मुआब्जाको समस्या बाँकी छ। मुख्य सुरुङ मार्गको ब्रेक थ्रु मार्च ६ मा राख्ने तयारी रहेको छ। हालसम्म ३२ मिटर मात्रै सुरुङ खान्न बाँकी रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४४ प्रतिशत काम भएको छ।’
समितिको बैठकमा सांसदहरूले सुरुङ मार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
नागढुङ्गा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसकेको छ। २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।