काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली यू–१९ का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाललाई कारबाही गरेको छ। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा बंगलादेश विरुद्धको खेलको दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ।
आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ। नेपालले ५ विकेटले गुमाएको बंगलादेश विरुद्धको त्यो खेलको छैटौं ओभरमा कुमाल दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा कुहिनोले हानेपछि उनलाई कारबाही गरिएको आईसीसीले जनाएको छ।
आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण उनी कारबाहीमा परेका हुन्।
सो डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा रहनेछ। कुनै खेलाडीले २४ महिना भित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ। यसअघि पाकिस्तान विरुद्धको खेलका दौरान भएको गल्तीका कारण स्पिनर सुवास भण्डारी पनि कारबाहीमा परेका थिए।
समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यू-१९ को सुपर सिक्समा पुगेको थियो। सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो।
सुपर सिक्सकै दोस्रो र अन्तिम खेल आज नेपालले भारतसँग खेल्दैछ। नेपालले टस हारेर पहिले बलिङ गर्दैछ। नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।