काठमाडौं– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपाल पुगेको छ। नेपालका लागि यो स्थानमा पुग्नु पनि आफैँमा ठूलो उपलब्धि हो। सुपर सिक्सको खेल खेल्ने १२ टोली हुनेछन्। यी टोलीको टुङ्गो पनि लागिसकेको छ।
सुपर सिक्सको समूह ‘एक’मा भारत, बंगलादेश, न्यूजिल्याण्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन्। सुपर सिक्स ‘दुई’मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ नियमका कारण नेपालले यो चरणमा २ वटा मात्र खेल खेल्ने छ। ६ देश एउटा समुहमा भए पनि आईसीसीले कुनै दुई देशका बीचमा खेल खेलाउन नियम बनाएको छ। शीर्ष स्थानमा रहेको भारत र दोस्रोमा रहेको बंगलादेशसँग नेपालले खेल्ने छ। नेपालले ४ खेल खेल्न पाउने भए पनि २ खेल लिग चरणमै न्यूजिल्याण्ड र पाकिस्तानसँग खेलेकाले अव २ मात्र खेल्ने छ।
नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ। नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ।
समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ। तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो। त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नपाउने हुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो।
पाकिस्तान र भारत दुवै समूह ‘डी’ र ‘ए’को विजेता बन्दै सुपर सिक्समा ४–४ अंकका साथ आएका छन्। न्यूजिल्यान्ड र बंगलादेश २–२ अंकका साथ आएका छन्। नेपाल र आयरल्यान्ड भने अंकविहीन हुँदै आएका छन्।
यदि पाकिस्तान र भारतले १/१ खेल जितेको खण्डमा पनि ६–६ अंकमा पुग्नेछन्। अर्कोतर्फ नेपालले दुवै खेल जिते पनि ४ अंकमा मात्रै पुग्न सक्छ। भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्यूजिल्याण्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ। त्यसैले गर्दा दुवै खेल जिते पनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन। अन्य टोलीको नतिजा र नेट रनरेटमा धेरै भर पर्नु पर्छ। जसले गर्दा नेपालको सेमिफाइनल यात्रा कठिन देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।