काठमाडौं– अभिनेता रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्पा ओलीले पनि अभिनय गर्ने भएका छन्। उनी प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिन लागेका हुन्।
एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणामा ओली प्रमुख अतिथिका रुपमा उपस्थित थिए।
फिल्म मुहूर्तमा पहिलो दृश्यको निर्देशन ओलीले गरेका थिए।
अभिनेता ढुंगानाले बायोपिक फिल्मका रुपमा ‘नमेटिने घाउ’बाट निर्देशनको यात्रा समेत सुरु गर्दै छन्।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाउन लागिएको छ। फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ।
फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पनि रहनेछन्।
त्यसैगरी फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत रहेका छन्।
यो फिल्म एसिड आक्रमणका घटना भएका ठाउँहरूमा पनि छायांकन गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।