काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध तेस्रो विकेट लिन सफल भएको छ। टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए। दोस्रो र तेस्रो विकेट आकाश चन्दले लिएका छन्।
यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ।
नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।
शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ।
अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ। अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।