काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोशी ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रनमा समेटियो।
कोशीका लागि मीनास थापाले सर्वाधिक २६ रन बनाए। ३७ बलको सामना गरेका उनले ५ चौका हिर्काए। यस्तै, कप्तान अंकित सुवेदीले २२ रन बनाए। २७ बल खेलेका सुवेदीले ३ चौका प्रहार गरे।
कमल खत्रीले १८ रन बनाए भने फिर्दोश अन्सारीले १३ रन बनाए। कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ५ विकेट लिए। ६ ओभर बलिङ गरेका मल्लले १ मेडन राख्दै २८ रन खर्चिए। यस्तै, विकाश आग्रीले ४ विकेट लिए। ७ ओभर बलिङ गरेका विकासले १ मेडन राख्दै मात्र ९ रन खर्चिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।