काठमाडौं- यू-१९ विश्वकपको पहिलो खेल नेपालले आइतबार न्यूजिल्याण्ड विरुद्ध खेल्दैछ। विश्वकप सुरु भएको दुई दिनपछि नेपालले टेष्ट मान्यता प्राप्त देश न्यूजिल्याण्डलाई पहिलो प्रतिस्पर्धीको रुपमा पाएको हो।
यू-१९ विश्वकपमा नेपाल र न्यूजिल्याण्डको भेट ८ वर्षपछि भएको छ। यू-१९ इतिहास खोतल्ने हो भने नेपालका लागि निकै सुखद छ। नेपाल हालसम्म न्यूजिल्याण्डसँग पराजित भएको छैन।
यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो। नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।
श्रीलंकामा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास रचेको थियो।
कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। तत्कालीन समयमा नेपालले न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो।
यसरी सन् २००६ मा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डमाथि जित निकालेर सनसनी मच्चाएको थियो।
त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकपको समूह चरणमा भेट भयो। सो खेलमा फेरि नेपाली युवा टिमले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै गर्विलो इतिहास कायमै राख्न सफल भयो। पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो।
२३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो।
आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्याउन सजिलो भने छैन।
न्युजिल्यान्ड यू-१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्यान्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो।
यस पटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको हो। किनभने, न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड–१९ का कारण नाम फिर्ता लिएको थियो। जसका कारण उसले एसिया–प्यासिफिक क्वालिफायरमार्फत सन् २०२४ को विश्वकपमा स्थान बनायो। छनोटमा न्युजिल्यान्डले सबै ६ खेल सहज रुपमा जित हात पारेर आएकाले उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ।
नेपालले पाकिस्तान (२००२), दक्षिण अफ्रिका (२००४, २००६) र न्युजिल्यान्ड (२००६, २०१६) जस्ता टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो।
सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा आठौं स्थान हात पार्नु नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो।
गत महिना यूएईमा भएको यू-१९ एसिया कप खेलेपछि दक्षिण अफ्रिका पुगेको नेपालले यस पटकको विश्वकपमा उत्कृष्ट खेल देखाउने विश्वास गरिएको छ। दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रहेका कारण पनि युवा खेलाडीहरु टेष्ट राष्ट्रहरुलाई स्तब्ध पार्ने आसा गरिएको छ। कप्तान देव खनाल, गुल्सन झा, अर्जुन कुमाल जस्ता खेलाडीहरुले उच्चस्तरको प्रर्दशन गर्ने आसा नेपालले गरेको छ।
नेपालले अभ्यास खेलमा स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई एक खेलमा पराजित गरेको थियो। मंगलबार वेस्ट इन्डिज विरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो। यी खेलमा गुल्सनले शतक प्रहार गरेका थिए भने अर्जुनले पनि राम्रो प्रर्दशन गरेका थिए। कप्तान खनालको ब्याटिङ भने लयमा देखिएको छैन।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।
न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।