काठमाडौं- आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो।
प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच खेल हुनेछ। यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपाल सहित १६ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ।
नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्। यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ। जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ। नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।
प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया रहेका छन्। समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन्। समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्यान्ड परेका छन्।
समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिनेछ। समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहनेछन्।
यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन्। ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन्। समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन।
समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ। समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ।
‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ। घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन्। उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन्।
यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो। यू–१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई–दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो। नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो।
नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो। औपचारिक अभ्यास खेलअघि खेलिएको दुई वटा अनौपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो।
भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ। भारतले सन् २०००, सन् २००८, सन् २०१२, सन् २०१८ र सन् २०२२ मा यू–१९ विश्वकप जितेको थियो। अस्ट्रेलियाले पनि तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ। अस्ट्रेलियाले सन् १९८८, सन् २००२ र सन् २०१० मा यू–१९ विश्वकपको उपाधि चुमेको थियो।
पाकिस्तानले हालसम्म दुई पटक यू–१९ विश्वकपको उपाधि उचालेको छ। पाकिस्तानले सन् २००४ र सन् २००६ मा उपाधि जितेको थियो। यसका अतिरिक्त बंगलादेशले सन् २०२०, दक्षिण अफ्रिकाले सन् २०१४, वेस्ट इन्डिजले सन् २०१६ र इङ्गल्यान्डले सन् १९९८ मा यू–१९ विश्वकपको उपाधि उचालेका थिए।
यू–१९ विश्वकपको तेस्रो संस्करणमा नेपाली टोलीले पहिलो पटक सहभागिता जनाएको थियो। सन् २००० मा प्रतियोगिताको तेस्रो संस्करण श्रीलङ्कामा आयोजना भएको थियो। त्यतिबेला नेपालले विनोद दासको कप्तानीमा यो विश्वकप खेलेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।