काठमाडौं– जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको दोस्रो खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै एपिएफले ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो। २४७ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको मधेशले ४८ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। प्रतियोगितामा मधेशले दोस्रो जित निकालेको हो भने एपिएफले पहिलो हार व्यहोरेको हो।
मधेश प्रदेशको जितका लागि मध्यक्रमका ब्याटर पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे। सर्राफले ६४, निरजले ५२ रन बनाउँदा रुपेशले नटआउट ७२ रन जोडेका हुन्।
बलिङमा एपिएफका रुपेश कुर्मी र कप्तान रोहित पौडेलले २-२ विकेट लिए। त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेट क्षतिमा २४६ रन बनाएको थियो।
एपिएफका लागि आसिफ शेखले ५९ रन र रोहित पौडेलले ५८ रन जोडे। अमरसिंह रटेउलाले नटआउट ४९ रन जोडे। मधेसका रुपेश सिंह र प्रदीप पासवानले ३-३ विकेट लिएका छन् भने यस्तै रंजित कुमारले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।