काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ। साहब आलमले उत्कृष्ट बलिङ गर्दा आर्मीले बिहीबारको खेलमा कोशी प्रदेशविरुद्ध ९ विकेटको फराकिलो जित निकाल्यो।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशविरुद्ध आर्मीका आलम एक्लैले ६ विकेट लिए। आलमको घातक बलिङसामु टिक्न नसकेको कोशी २४.४ ओभरमा मात्र ८८ रन बनाएर अलआउट भयो। आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए।
कोशीले १२.२ ओभर खेल्दासम्म ३ विकेट गुमाएर ७० रन बनाएको थियो। पछि मात्र १८ रन जोड्दा ७ विकेट गुमायो।
कोशीविरुद्ध आर्मीका कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले समान १–१ विकेट लिए।
कोशीका कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए। ३७ बल खेलेका उनले ९ चौका प्रहार गरे। कोशीका ५ ब्याटर एउटा पनि रन जोड्न नसकेर आउट भए। अन्य ब्याटरले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।
८९ रनको सामान्य लक्ष्य आर्मीले ९.५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।
आर्मीका ओपनर सन्तोष कार्की ३२ र कुशल मल्ल २२ रनमा नट आउट रहे। अर्का ओपनर इमरान शेखले ३२ रन बनाए।
आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले मधेस प्रदेशलाई १२६ रनले हराएको थियो। आर्मी बागमती प्रदेशसँग भने ३ विकेटले पराजित भएको थियो।
कोशी प्रदेशको भने यो चौथो हार हो। पहिलो खेलमा मधेस प्रदेशसँग ७ विकेटले हारेको कोशी दोस्रो खेलमा एपीएफसँग ६ विकेट र तेस्रो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।