काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार तीन वटा खेल हुँदैछन्। मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान सवा ९ बजे सुरु हुनेछ।
अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान सवा ९ बजे सुरु हुनेछ भने आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अहिले बिहान ९ बजे सुरु हुनेछ।
मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ। मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दैछ।
यसैगरी एपिएफ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो। कोशी प्रदेश भने पहिलो खेलमा मधेससित सात विकेटले हारेको थियो।
यस्तै लुम्बिनी प्रदेश अङ्क तालिकाको चौथो स्थानमा छ। लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको थियो। सुदूरपीश्चम प्रदेश भने आज पहिलो खेल खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।