काठमाडौं– दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ। नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेलसमेत खेलिसकेको छ। सवै खेल जितेर नेपाल उच्च मनोबल बोकेर मैदानमा उत्रने तयारीमा छ नेपाली टिम।
माघ ५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा नेपालले आफूलाई टेस्ट खेल्ने देशहरुभन्दा कम नभएको प्रमाणित गर्नुपर्ने छ। यही कारण नेपालले राम्रो तयारी पनि गरिरहेको छ।
विश्वकपअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकपमा प्रभाव पार्न सक्ने चार जना नेपाली खेलाडीको नाम पनि उल्लेख गरेको छ। आईसीसीको दृष्टिमा प्रभाव पार्नसक्ने खेलाडीहरूमा कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्ता रहेका छन्। आसन्न विश्वकपमा नेपालका यी चार खेलाडीले प्रभाव छाड्न सक्ने आईसीसीले विश्लेषण गरेको हो।
कप्तान देव खनाल
कप्तान देवले नेपाली सिनियर टोलीबाटसमेत १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसक्केका छन्। उनी एक दिवसीयमा दुई सय ५३ रन जोड्दै एकै खेलमा सर्वाधिक ७२ रन बनाएका खेलाडी हुन्। त्यस्तै विश्वकप छनोटमा उनले लगातार शतक प्रहार गरेर रेकर्ड पनि बनाएका छन्। लामा सर्ट खेल्न सक्ने र विपक्षी बलरमाथि हावी हुनसक्ने आक्रामक खेल शैलीका कारण खनाल कुनै पनि टोलीमाथि हावी हुनसक्छन्।
तर पछिल्ला खेलहरुमा उनले लय लिन सकेका छैनन्। उनले लय लिएको अवस्थामा नेपाली यू–१९ टोलीले टेस्ट राष्ट्रहरुलाई पनि हराउन सक्ने छ। उनीसँग सिनियर टोलीसँग खेलेको अनुभव पनि भएकाले दबाबमा पनि सम्हालिएर ब्याटिङ गर्न सक्ने क्षमता खनालसँग छ। यो कुरा उनले नेपालले छनोट चरणमा सबै खेल जितेर उपाधि जितेर विश्वकपसम्म पुग्दा देखाएका छन्। त्यस्तै उनी कप्तानको रुपमा सफल र प्रभावकारी भूमिका निभाउँदै आएका छन्।
अलराउन्डर गुल्सन झा
गुलशनले नेपालका लागि २४ एक दिवसीय अन्तर्राष्ट्रिय र १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एक दिवसीयमा २१ विकेट लिनुका साथै चार सय ८८ रन बनाएका छन्। तीन अर्धशतक पूरा गरेका उनले एकै खेलमा सर्वाधिक ६७ रन बनाएका छन्। उनले टी–२० मा १२ विकेट लिनुका सार्थ एक सय ४१ रन बनाएका छन्। टी–२० मा उनले एकै खेलमा सर्वाधिक ५४ रन बनाएका छन्।
नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बनेका थिए। घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो।
प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए। मिडल ओभरमा कसिलो बलिङ गर्दै विकेट लिने, अनि टिमलाई चाहिएको बेला जुनसुकै पोजिसनमा गएर ब्याटिङ गर्ने उनले आफू पर्फेक्ट अलराउण्डको छनक दिइरहेका छन्।
१७ वर्षका गुल्सनले पहिलो पटक २०७७ मा भएको मेयर्स कपमा सबैको ध्यान तानेका थिए। नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा सशस्त्र प्रहरीविरुद्ध लोभलाग्दो बलिङ गर्दै नेपालका तत्कालीन प्रशिक्षकको ध्यान आफूतिर तानेका थिए। राष्ट्रिय टिममा परेपछि पछाडि फर्किएर हेर्नु परेको छैन। नेपाली टोलीले पछिल्लो एक वर्षमा पाएको अभूतपूर्व सफलतामा अभिन्न अंग बने। लिग टुमा पछिल्ला १२ मध्ये ११ खेलमा जित, एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग सम्मानजनक प्रदर्शनमा उनले पनि योगदान दिएका थिए।
यू–१९ को अभ्यास खेलमा पनि उनले एक शतक र केही विकेट लिँदै त्यसको छनक दिएका छन्।
अर्जुन कुमाल
अर्का ओपनर अर्जुनले यू–१९ अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। एसीसी एसिया कपमा उनले अफगानिस्तानविरुद्ध ९१ रन बनाएका थिए। विश्वकपअघि शनिबार स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा पनि ३३ रन बनाएका छन्।
यो वर्ष नेपालले एसीसी मेन्स अन्डर नाइन्टीन प्रिमियर कपको उपाधि जित्दा र विश्वकपमा छनोट हुँदा उनको प्रदर्शन महत्त्वपूर्ण रह्यो। दुवै प्रतियोगितामा अर्जुनले शतक प्रहार गरेका थिए।
अर्जुन, तीन वर्षअघि भएको प्रधानमन्त्री कपबाट उदाएका खेलाडी हुन्। गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने उनी अन्डर सिक्सटीन हुँदै अन्डर नाइन्टीन टिममा आए। नेपाल आठ वर्षपछि विश्वकपमा फर्किँदा अर्जुनको प्रदर्शन तारिफ योग्य रह्यो।
उनले कुबेतसँग १ सय ८ र प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १ सय ४२ रनको इनिङ्स खेलेका थिए। अर्जुनलाई नेपाली क्रिकेटको भविष्यको रूपमा हेरिन्छ। उनले प्रहार गर्ने सटले पूर्वकप्तान पारस खड्काको झल्को पनि दिन्छ। त्यसैले धेरैले अर्जुनलाई पारससँग तुलना पनि गर्छन्।
दुर्गेश गुप्ता
फास्ट बलर दुर्गेशले घरेलु प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनी एशिया कपमा टोलीमा परे पनि खेल्न पाएनन्। तर नेपाली तिव्र गतिका एक बलर हेमन्त धामी घाइते भएपछि उनले मौका पाएका छन्।
घरेलु खेलमा निकै राम्रो प्रदर्शन गरेका कारण उनी वाच लिस्टमा छन्। उनी नेपाली टिममा बलिङको उदाउँदो स्टारको रुपमा पनि हेरिएको छ। यू–१९ विश्वकपमा नेपालको प्रदर्शन विगतमा पनि राम्रो भएको थियो। नेपालले न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बावे, बङ्गलादेश र आयरल्यान्डजस्ता टोलीलाई हराएको थियो।
यसपटक पनि नेपाली टोलीबाट राम्रो आशा गरिएको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्। नेपालले जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ।
सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन्।
समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन्। नेपाली टोलीको प्रशिक्षकको भूमिका जगत टमटाले निभाउँदै आएका छन्।
नेपाली यू–१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दीपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।