काठमाडौं– जग्गाको स्वामित्व र मुआब्जा समस्याले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि पुनः सुरु भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयसीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम पुनः सुरु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।
नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए। आन्दोलनरत जग्गाधनीलाई सिंहदरवार बोलाएर मन्त्री ज्वालाले छलफल गरेका थिए। पूर्वसांसद भूमि त्रिपाठीसहितको टोली सिंहदरवार पुगेको थियो। सुरुङ मार्गको धादिङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुने कि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो।
सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वाभित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएपछि निर्माण कार्य सुरु हुने भएको छ। स्थानीय बासीले अबरोध गरेपछि सुरुङ भित्रको कंक्रेटि लाइनिङ गर्ने कार्य अवरुद्ध बनेको थियो।
मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्या कानुनको दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिवद्धता जनाएको सडक विभाग वैदेशिक शाखाका प्रमुख विजय जैसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।