काठमाडौं– कोशी प्रदेशले सोमवार प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त तय गरेको छ। दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको रबाफिलो जित निकाल्दै कोशी लगातार चौथो पटक यस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
अब कोशीले बुधबार विभागीय टोली एपिएफसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ। कोशीले जारी प्रतियोगितामा तेस्रो पटक एपिएफविरुद्ध खेल्न लागेको हो। यसअघि लिग र पहिलो क्वालिफायरमा कोशीले एपिएफसँग हार सामना गर्नुपरेको थियो। यस पटक भने उपाधि जित्ने लक्ष्यका साथ कोशी मैदान प्रवेश गर्नेछ।
संघीय संरचनापछि चौथो पटक फाइनलमा पुगेको कोशीले उपाधि भने जित्न सकेको छैन। कोशीले जारी प्रतियोगिता दोस्रोपटक सुदूरपश्चिमलाई हराउँदै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियु) मा उपाधि भिडन्त तय गरेको हो। सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य कोशीले १३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर काजल श्रेष्ठले ३८ रन र अप्सरी बेगमले १२ रनको अविजित इनिङ खेल्दै जित दिलाए। त्यसअघि ओपनर तथा कप्तान रुबिना क्षेत्रीले ३७ रनको योगदान दिइन्। काजल र रुबिनाले पहिलो विकेटका ५९ रनको साझेदारी गर्दै जितको आधार तय गरे।
सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन्। कविता जोशीले तीन ओभरमा किफायती बलिङ गरे पनि विकेटविहीन रहिन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो।
सुदूरपश्चिमकी सम्झना खड्काले २५ रन, विन्दु रावलले १७ र कविता जोशीले १५ रनबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्।
कोशीको बलिङमा लागि संगीता राईले दुई तथा एलिशा खडिया, निशा साह र सबनम राईले समान एक विकेट लिए। पहिलो क्वालिफायरमा कोशी एपिएफसँग ५२ रनले स्तब्ध बनेको थियो। एलिमिनेटमा सुदूरपश्चिमले वागमती प्रदेशलाइ ९ विकेटले हराउँदै कोशीसँग भेट पक्का गरेको थियो। तर, गत वर्षको विजेता सदूरपश्चिम यस पटक भने फाइनल पुग्न असफल रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।