काठमाडौं– अस्ट्रेलियाली क्रिकेटर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीई)बाट पनि सन्यास लिने घोषणा गरेका छन्। ३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए।
३ जनवरीदेखि सुरु हुने टेस्ट म्याचमा वार्नर अन्तिमपटक टेस्ट म्याच खेल्नेछन्। यो म्याच पाकिस्तानविरुद्ध हुनेछ। अस्ट्रेलियाली टोली अहिले पाकिस्तानविरुद्ध ३ म्याचको टेस्ट सिरिज खेलिरहेको छ।
वार्नरले गत वर्ष विश्वकप क्रिकेटको फाइनलमा भारतविरुद्ध खेलेका थिए। अस्ट्रेलियाले उपाधि जितेको उक्त म्याचमा वार्नरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
वार्नरले आफ्नो सन्यासबाट नयाँ खेलाडीलाई मौका मिल्ने बताए। साथै अब आफूले फ्रेन्चाइज क्रिकेट धेरै खुलेर पनि खेल्न सक्ने बताए।
डेविड वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेल्ने गर्छन्।
वार्नरले १६१ वानडे म्याच खेलेका छन् र ६ हजार ९३२ रन बनाएका छन्। अस्ट्रेलियाको एकदिवसीय इतिहासमा सबैभन्दा बढी रन बनाउने खेलाडीमा वार्नर छठौं ब्याटर हुन्।
यद्यपि वार्नरले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्ने विषयमा भने पूर्ण रुपमा इन्कार गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।