काठमाडौं– एपिएफले आइतबार कोशी प्रदेशमाथि सहज जितसहित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिम प्रदेशले पनि इलिमिनेटरमा पार गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा आईतवार एपिएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशमाथि ५२ रनको सहज जित निकाल्दा सुदूरपश्चिमले पनि वागमती प्रदेशलाई ९ विकेटले हरायो। पराजित कोशीले फाइनल यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमबिरुद्ध सोमबार प्रतिष्पर्धा गर्नेछ। यी दुईबीच लिग चरणको खेलमा कोशीले जित निकालेको थियो। यस पटक पनि सोही लक्ष्यका साथ कोशीले सुदूरपश्चिमविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।
त्यसअघि आइतबारको पहिलो खेलमा एपिएफले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ८७ रन मात्र जोड्यो।
पहिलो ओभरमै ओपनर काजल श्रेष्ठलाई ४ रनमा गुमाएको कोशीले सुस्त ब्याटिङ ग¥यो। कोशीकी कप्तान रुविना क्षेत्रीले २६ बलमा २४ रन जोड्दा अप्सरी बेगमले ४८ बलमा ३१ रन जोडिन्। लकिता राजवंशीले १४ रन बनाइन्।
एपिएफका सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले समान एक विकेटसँगै कसिलो बलिङ गरिन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो। एपिएफकी इन्दु बर्माले ५० बलमा तीन चौका र एक छक्कासहित ५६ रनमा नटआउट रहिन्।
कप्तान सीताले ४५ रन जोड्दा रोमा थापा १८ रनमा नटआउट रहिन्। एपिएफको तेस्रो विकेटका लागि इन्दु र रोमाले अविजित ५८ रनको साझेदारी गरे। कोशीको बलिङमा रुविनाले एक विकेट लिइन्। लिगमा शिर्ष दुईमा रहँदै एपिएफ र कोशीले पहिलो क्वालिफायरमा प्रतिष्पर्धा गरेका हुन्। लिगमा पनि कोशीलाई हराएको एपिएफले यस पटक पनि यो लय जारी राख्यो। दोस्रो खेलमा बागमतीले दिएको एक सय रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो। विन्दु रावलले ५४ रन र सम्झना खड्काले २१ रनको अविजित इनिङ खेल्दै सुदूरपश्चिमलाई सहज जित दिलाए।
यो जोडीले दोस्रो विकेटका लागि अविजित ५७ रनको साझेदारी गरे। ४९ बलमा विन्दुले सात चौका हिर्काइन्। रुवी पोदारले १८ रनको योगदान दिइन्। वागमतीको बलिङमा मनिषा उपाध्यायले एक विकेट लिइन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको वागमती १९ ओभरमा ९९ रनमा अलआउट भयो। वागमतीकी कञ्चन श्रेष्ठले ३६, सोनी पाख्रिनले १४ तथा हेलिशा गुरुङ र खुशी डंगोलले समान १० रन बनाए। सुदूरपश्चिमको बलिङमा करिस्मा थापाले तीन तथा लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान दुई विकेट लिए। लिग चरणबाट सुदूरपश्चिम तेस्रो र वागमती चौथो स्थानमा रहेर प्ले अफमा स्थान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।