काठमाडौं– पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा भएको नेपाल प्रो क्लब च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा-११ लाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि हात पारेको हो। उपाधिसँगै पुलिसले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले अवजित ४० रनको योगदान गरे। उनले केवल १७ बलमा ५ छक्का प्रहार गरेका थिए। यसैगरी अर्जुन साउदले २६ रन, शंकर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए।
१४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा-११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाउन सक्यो। बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले ४ विकेट लिए। यसैगरी ललित राजवंशी र रासिद खानले २–२ विकेट लिए भने करण केसी र शेर मल्लले समान १–१ विकेट लिए। फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।