काठमाडौं– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ।
सुदुरपश्चिमले दिएको ११९ रनको लक्ष्यलाई कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो। कोशीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे। काजलले ४८ बलमा ८ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै ८ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन्। बिमला मलाहले ४ रन जोडिन्।
सुदुरपश्चिमकी अनु कठायतले २ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रनको योगफल बनाएको थियो। सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्।
त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन् भने कविता जोशीले २६ रन बनाइन्। रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन्। बलिङतर्फ कोशी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान १–१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।