काठमाडौं– सुरुङ निर्माणको काम गर्न सिद्धार्थ राजमार्ग हरेक दिन ६ घण्टा बन्द हुने भएको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार पुस १६ गतेदेखि दैनिक ६ घण्टा राजमार्ग बन्द हुनेछ।
सुरुङ मार्गको दक्षिण र उत्तरतर्फको पोर्टल तथा बाइपास टेल र स्लोप क्षेत्रको काम गर्दा राजमार्गको सिद्धबाबा खण्ड दैनिक ६ घण्टाका लागि बन्द गरिन लागिएको हो।
राजमार्गमा राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरिनेछ। अत्यावश्यक सवारीका साधनलाई भने कुनै रोक नलगाइने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिए।
पहिरोका कारण सधैंजसो अवरुद्ध हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङ निर्माण थालिएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको ठेक्का पाएर १ वर्षअघिदेखि काम सुरु गरेको छ।
सिद्धबाबा सडक खण्डको दोभानदेखि सिद्धबाबासम्म १ हजार १२६ किलोमिटरको सुरुङ निर्माण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।