काठमाडौं– कविता जोशीको शानदार प्रदर्शनमा आइतबार सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।
अर्धशतक प्रेरणासँगै कविताले बलिङमा पनि साथ दिएपछि सुदूरपश्चिमले कीर्तिपुरमा कर्णाली प्रदेशमाथि ८१ रनको सफलता निकाल्दै जारी प्रतियोगितामा दोस्रो जित आत्मसात गर्यो।
कविताले ७८ रनका साथै दुई विकेट लिइन्। यता, सोही दिन नै मुलपानीमा बागमतीले गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो। यससँगै समान तीन खेलबाट दुवैले पहिलो जित आत्मसात गरेको हो।
समान खेलबाट कर्णाली तीन वटै खेलको नतिजा सुम्पिँदा गण्डकीले भने एक खेल जितेको छ। एक सय ५१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि तिर्सना विश्वकर्माले २८ रन तथा अन्जु गुरुङ र रश्मि खड्काले समान १० रन बनाए। सुदूरपश्चिमकी जानकी थापाले तीन विकेट तथा कविता जोशीले दुई र मनिषा चौधरीले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५१ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमकी कविताले ५० बलमा १० चौका र एक छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरिन्।
रेवती धामीले अविजित २२ रन जोड्दा सम्झना खड्काले ११ रन र कप्तान ऋतु कनोजियाले १० रन बनाए। पाँचौं विकेटका लागि कविता र रेवतीले अविजित ८४ रनको साझेदारी गरे।
कर्णालीका लागि अन्जु गुरुङले दुई तथा यमुना थारु र रश्मि खड्काले समान एक विकेट लिए। मुलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य बागमतीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
बागमतीकी यशोदा बिष्टले अविजित ३९ रन तथा हेलिशा गुरुङले २० र सोनी पाख्रिनले १७ रन बनाए। गण्डकीका लागि शृष्टि जैसीले दुई तथा आकृति तिवारीले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय १२ रनको योगफल बनायो। गण्डकीका लागि अञ्जली विश्वकर्माले ३२, सुमन खतिवडाले अविजित २८ रन, सिमान केसीले २८ र सृजना पौडेलले ११ रन बनाए।
बागमतीका लागि करिश्मा गुरुङ, मनिषा उपाध्याय र कप्तान अस्मिना कर्माचार्यले समान एक विकेट लिए। आइतबार नै सम्पन्न अन्य खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र कोशी प्रदेशले सफलता निकाल्दै जारी प्रतियोगितामा तेस्रो जित निकालेको छ।
एपिएफले लुम्बिनीमाथि ९० रनको रबाफिलो जित निकाल्दा कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो। कोशीले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित ओभर नै खेल्दै ६९ रन मात्र जोड्न सक्यो।
अर्को खेलमा एपिएफले दिएको एक सय ५२ रनको लक्ष्य लुम्बिनीले पनि निर्धारित २० ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो। पहिलोपटक राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा आठ टोलीले नै एकआपसमा प्रतिष्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।