काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एक दिवसीय क्रिकेटको वरीयताक्रम अपडेट गरेको छ। पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका चर्चित दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्ड्या र शिखर धवनभन्दा अगाडि पुगेका छन्।
धवन कुनै समय भारतको ओपनिङ ब्याट्सम्यान थिए। उक्त स्थान अहिले शुभमन गिलले लिएका छन्। त्यस्तै पाण्ड्या अलराउन्डर हुन्। उनी पछिल्लो समय घाइते भएका छन्। यसपटकको इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि उनी मुम्बई इन्डियन्स्को कप्तान समेत नियुक्त भएका छन्।
एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरुको पछिल्लो वरीयतामा नेपालका आसिफ शेख ७२औँ र रोहितकुमार पौडेल ७९औँ स्थानमा छन्। वरीयतामा भारतका शिखर धवन ८७औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा ३ स्थान तल झरेका हुन्। अर्का भारतीय ब्याट्सम्यान हार्दिक पाण्ड्या भने ९१औं स्थानमा छन्। उनी अघिल्लो वरीयताको तुलनामा एक स्थान तल झरेका हुन्।

यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल नयाँ वरीयताको ९६औँ स्थानमा छन्। उक्त वरीयतामा अफगानिस्तानका नजिबुल्लाह जदरान ८०औँ, अफगानिस्तानकै मोहम्मद नाबी ८१औँ र वेस्ट इन्डिजका ब्रान्डन किङ ८२औँ स्थानमा छन्।
पाकिस्तानका बाबर शीर्ष स्थानमा
पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन्। उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन्। भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा छन्।
यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्यूजिल्याण्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन्।
बलिङतर्फ सन्दीप ३२औं स्थानमा
त्यस्तै एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा नेपालका लेग–स्पिनर सन्दीप लामिछाने ३२औँ स्थानमा छन्।
एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो स्थानमा छन्। त्यस्तै अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो स्थानमा छन्। अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ, अफगानिस्तानका रासिद खान छैटौँ स्थानमा छन्। न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादव आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।